छ वर्षपछि चलचित्र निर्देशनमा निश्चल
दिमाग खराब चलचित्र सामाजिक र राजनीति विषयवस्तुमा आधारित रहेको निर्देशक बस्नेतको भनाइ छ । उहाँले भन्नुभयो, “मैले कुनै राजनीतिक मुद्दालाई कथा बनाएको होइन तर राजनीति भने मिसिएको छ ।”
उहाँले चलचित्रमा देखिएका पात्र राजनीति वा त्यसको परिस्थितिका कारण सिर्जित हुने गरेको भन्दै चलचित्र विशुद्ध मनोरञ्जनका लागि निर्माण गरिएको बताउनुभयो ।
“एउटा साधारण मान्छेको आफ्नै भोगाइहरु हुन्छ । देशप्रति आशा हुन्छ । यी सबै चिजहरुले कसरी एउटा साधारण मान्छेको दिमाग कसरी खराब हुनपुग्छ भन्ने विषयलाई चलचित्रको कथा बनाइएको छ”, उहाँले भन्नुभयो । बस्नेतले ‘टलकजंग भर्सेस टुल्के’ र ‘लुट २’ निर्देशन गरिसक्नु भएको छ ।
चलचित्र दिमाग खराबमा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अर्पण थापा, सुमन कार्की, बिजय बराललगायतका कलाकारले अभिनय गर्नुभएको छ ।
साथै सुसन प्रजापतिले छायाङ्कन, आकाश बरालले पटकथा लेखन, जयन जे वाइवा र कालिप्रसाद बाँस्कोटाले सङ्गीत सिर्जना र निमेष श्रेष्ठले सम्पादन गर्नुभएको छ ।