प्रति किलोमिटर रु. २७ भाडा तोक्न ‘प्रो राइडर समूह’ माग
राइड शेयरिङ कम्पनीले मनोमानी र श्रम शोषण गरेको आरोप लगाउँदै ‘प्रो राइडर समूह, काठमाडौँ’ले आफ्ना मागहरू सम्बोधन नभए सेवा नै ठप्प पार्ने चेतावनी दिएको छ । समूहले सोमबार एक विज्ञप्ति जारी आफ्ना माग पूरा नभए अन्तिम विकल्पका रूपमा राइड शेयरिङ सेवा पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको हो ।
सम्बन्धित निकाय र कम्पनीको बारम्बार ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरिएपछि आन्दोलनका कार्यक्रम घोषणा गर्नुपरेको समूहको भनाइ छ । यस सन्दर्भमा समूहका प्रवक्ता पेशल कुमार खत्री मगरले भनेका छन्, “विगत लामो समयदेखि हामीले सम्बन्धित निकाय, कम्पनीहरू तथा सरोकारवालासँग बारम्बार संवाद, आग्रह र ध्यानाकर्षण गराउँदै आएका छौं । तर, हाम्रो धैर्यलाई कमजोरी ठान्दै समस्यालाई निरन्तर बेवास्ता गरिएको छ । यसले सम्पूर्ण राइडरलाई आक्रोशित र बाध्य बनाएको छ ।”

विज्ञप्तिमार्फत राइडरले भाडादरमा एकरूपता कायम गर्नुपर्ने मुख्य माग राखेका छन् । नेपालभर सञ्चालनमा रहेका सबै राइड शेयरिङ एपमा प्रति किलोमिटर २७ रुपैयाँको समान भाडादर अनिवार्य रूपमा लागु गरिनुपर्ने उनीहरूको माग छ । त्यस्तै, कम्पनीहरूले विभिन्न योजना, प्लान, बोनस वा गोल ट्रिप जस्ता नाममा ग्राहकलाई सुविधा दिने बहानामा राइडरहरूको भाडादर घटाउने वा बढाउने गरेको र यस्तो कार्य तुरुन्त बन्द गर्नुपर्ने समूहले जनाएको छ । यस्ता योजनाका नाममा राइडरमाथि आर्थिक शोषण भइरहेको उनीहरूको दाबी छ ।
आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलन नरोकिने भन्दै समूहले चरणबद्ध आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरेको छ । जसमा कालो पट्टी बाँधेर देशव्यापी प्रतीकात्मक विरोध गर्ने, सामूहिक धर्ना दिने, सडकमा उपस्थिति प्रदर्शन गर्ने, र जनसमर्थन जुटाउन हस्ताक्षर अभियान सञ्चालन गर्ने उल्लेख छ ।




