भूकम्प प्रभावित क्षेत्रका नागरिकलाई सहुलियत कर्जा दिन कर्णालीका अर्थ मन्त्रीको राष्ट्र बैंकलाई आग्रह
काठमाडौं – कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले भूकम्प प्रभावित जिल्लाका नागरिकलाई सहुलियत कर्जा दिन नेपाल राष्ट्र बैंकसँग माग गरेका छन । आज राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा गभर्नर महाप्रसाद अधिकारीसँगको छलफलमा मन्त्री सिंहले जाजरकोट भूकम्पले असर गरेका जिल्लाका नागरिकलाई सहुलियत कर्जा दिन माग गरेको हुन ।
मन्त्री सिंहले भूकम्प प्रभावित क्षेत्रको कर्जा निष्क्रिय भएपनि त्यसलाई निष्क्रिय कर्जामा गणना नगर्न पनि अनुरोध गरे । भूकम्पका कारण प्रभावित क्षेत्रका नागरिकको जनजीवन अस्तव्यस्त बनेको, व्यापार व्यवसायमा प्रत्यक्ष असर परेको र आर्थिक गतिविधि समेत नभएकाले त्यस क्षेत्रका नागरिकले विभिन्न बैंकबाट लिएको कर्जाको ब्याज बुझाउने भाका कम्तीमा तीन महिना पर सारिदिन पनि मन्त्री सिंहले गभर्नर अधिकारीसँग आग्रह गरे ।