प्रधानमन्त्री कार्यालयमा अब मात्र २२७ कर्मचारी
सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ओएनएम (संगठन तथा व्यवस्थापन) परिमार्जन गरी ६८ वटा दरबन्दी कटौती गर्ने निर्णय गरेको छ।
हाल प्रधानमन्त्रीको कार्यालयमा कर्मचारीको दरबन्दी २ सय ९५ छ । यसमा ६८ दरबन्दी घटाउँदा प्रधानमन्त्री कार्यालयमा अब कर्मचारीको दरबन्दी २ सय २७ मात्र हुने भएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री कार्यालयका ६८ वटा दरबन्दी कटौती गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना मन्त्री रेखा शर्माले जानकारी गराइन। एक वर्ष कार्यकाल पूरा भएको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री कार्यालयको पुनर्संरचनाबाटै सुरु गर्ने भने अनुसार दरबन्दी कटौती गरिएको शर्माको भनाइ छ।
सरकारको एक वर्षको कार्यकाल पूरा भए पछि बिहीबार पहिलो पटक मन्त्रिपरिषद्को बैठक बसेको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लगेको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री कार्यालयमा दरबन्दी घटाउने निर्णय गरेको हो। सामान्यले लगेको प्रस्तावमा ७५ दरबन्दी घटाउन सिफारिस गरिएको थियो।
यसअघि प्रधानमन्त्री कार्यालयलाई पुनर्संरचना गर्न बनेका विभिन्न समितिहरूले प्रधानमन्त्री कार्यालयमा कर्मचारीहरूको दरबन्दी आवश्यक भन्दा बढी भएको भन्दै प्रधानमन्त्री कार्यालयमै दरबन्दी घटाउन सरकारलाई सिफारिस गर्दै आएका थिए।